
संखुवासभा – हालैको जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट फरार भएका तीन कैदी संखुवासभामा पक्राउ परेका छन्।
प्रहरीले सोमबार चैनपुर नगरपालिका–१० का ४१ वर्षीय नारायण राईलाई घरमै लुकिरहेको अवस्थामा पक्राउ गरेको छ। चोरी मुद्दामा कैद भुक्तान गरिरहेका राई नख्खु कारागारबाट भागेका थिए।
त्यस्तै, सुनसरीस्थित क्षेत्रीय कारागार झुम्काबाट जबर्जस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चैनपुर–९ का ३१ वर्षीय सुभाष तामाङ र चिचिला गाउँपालिका–२ का ५७ वर्षीय गोम्बु शेर्पा पनि पक्राउ परेका छन्।
जिल्ला कारागार खाँदबारीका प्रमुख जेलर राजन घिमिरेका अनुसार पक्राउ परेका तीनै कैदीलाई बुधबार झुम्का कारागार पठाउने तयारी भइरहेको छ। हाल संखुवासभा कारागारमा १३९ कैदीबन्दी रहेका छन्, जसमा ८ महिला र २ आश्रित बालबालिका समेत छन्।